आरनेलाई जीविका चलाउनै धौ–धौ

१६ असोज, दैलेख । तोलीजैसी – ८ लामामेलाका ५५ वर्षिय प्रदिप तिरुवाको जवानी फलामका भाडाकुडा र औजार बनाउनमै बित्यो । बाबुबाजेले अंगालेको पेशालाई निरन्तरता दिन प्रदिपले सानैदेखि फलाम पिट्न सिके । आरने भएबापत अनाजबाटै वर्षभरी गुजारा चलाउनुपर्ने बाध्यता कायमै छ । ‘गाउँलेको फलाम पिटेर अहिलेसम्म नगद ज्याला पाएको छैन् । आरन चलाइरहेका तिरुवाले भन्नुभयो ‘पहिले–पहिले गाउँमा अनाज राम्रै फल्थ्यो । र, खलो पनि राम्रै उठ्थ्यो । आजभोलि न नगद ज्याला पाइन्छ नत उचित अनाज । जीविका चलाउन धौ–धौ भएको छ ।
प्रदिपले बालीघरेबाटै ९जनाको परिवार पालेको बताउनुभयो । उनका भागमा तोलीजैसी लकान्द्र गाविस गरि ४१ घर छन् । ती घरका कुटो, कोदालो, आँसी, बञ्चरो, घन, फाली लगायत औजारहरुका साथै भान्साका सरसामान बनाउदै आएका छन् । खेतीपातीको मौसममा उनलाई झन् बढी कामको बोझ थपिन्छ । ‘सबैको सामान एकैपटक बनाउनुपर्ने हुन्छ । गाली पनि उस्तै सहनुपर्छ प्रदिपले भन्नुभयो । उता आफूले ज्याला पाउन छ महिना कुर्नुपर्छ ।
बाली पाकिसकेपछि प्रदिप र परिवारका सदस्यहरु मालिकका घर–घर पुगेर खलो (अनाज) उठाउने गर्दछन् । गाउँघरमा बालिघरे अन्नलाई खलो भन्ने गरिन्छ । उनले एक बालीको २ पाथीसम्म अनाज पाउने गर्दछन् । ‘बढी दिनेले ३ पाथीसम्म दिन्छन् । वर्षको आठ मूरीजति अनाज भित्रिन्छ । यत्तिले वर्षभरी ९ जनाको परिवारलाई कसरी पाल्नू ? व्यथा सुनाउदै भने, पछिल्ला आठ–दश वर्ष यता गाउँमा उत्पादनै छैन । पहिले चार माना दिनेले एक माना दिन्छन् ।
पुख्र्यौली आरन पेशा अंगालेर संघर्षमय जीवन गुजारिरहेका तोलीजैसीका प्रदिप मात्र एक्ला होइनन् । पुर्विय चौराठा गाविसमै १३ जना कामी जातिकाले आरनलाई मूल पेशा बनाउदै आएका छन् । आरन चलाउनु र त्यसबाट प्राप्त अनाजले वर्षभरीको छाक टार्नु उनीहरुको बाध्यता हो । त्यहाँकै नरिमान विक ४७ धुरी विष्टका बालिघरे हुन् । नरिमानको दुखेसो छ, ‘बाबुछोरा वर्षौंदेखि फलाम पिटेको पिटेयै छौं । खलोले छ महिनासम्म छाक टार्न मुस्किल पर्दछ । फलाम नपिटेर अब के गर्नु र ? जीविका धान्नैप¥यो ।
गाउ–गाउमा छरिएर बसोबास गरिरहेका आरनेहरु संगठित नहदा बालिघर अर्थात् खलो प्रथा हट्न नसकेको दलित अगुवाको भनाई छ । ‘फलाम पिटेर औजार बनाउने काम आफैमा सजिलो छैन् । तैपनि आरनेहरुले वर्षौंदेखि न्यून अनाजसंग अमूल्य श्रम साट्नुपरेको छ दलित जागरण केन्द्रका अध्यक्ष अमर सुनारले भन्नुभयो । परम्परागत आरन पद्धतिलाई सुधार्नुपर्ने उनको भनाई छ । नगद ज्यालामा काम गरेमा आरनेहरुलाई अपमान र घृणा कसैले गर्न नसक्ने उहाँले बताउनुभयो ।
राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका कारण पछिल्लो समय विभिन्न परम्परागत पेशाहरु समेत आधुनिक बन्दै गएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*