रुकमाङ्गद जग्गा बेचेर समाजसेवामा !

दैलेखखवर समाचारदाता
२३ जेठ, दैलेख ।‘राजा महेन्द्रले ओखलढुंगाबाट ल्याएर यहाँ स्कुलमा नराखिदिएको भए आज म के हुन्थें होला ?’ शनिवार अपरान्ह नक्सालस्थित सेलिब्रेसन पार्टी प्यालेसमा पूर्वप्रधानसेनापति रुकमांगद कटवालले यो प्रश्न गर्दा सन्नाटा छायो । उनले थपे, ‘म जस्ता मानिस मेरा गाउँमा धेरै थिए र छन् । उनीहरुले उचित शिक्षा पाउन सकेनन् । मैले काठमाडौँको राम्रो स्कुलमा पढ्न पाएँ र देशको सेवा गर्ने मौका पाएँ, आज देश–विदेशमा आफ्ना कुरा राख्न सक्ने भएको छु ।’

पूर्वप्रधानसेनापति कटवालले ‘सहाराविहीनका लागि परोपकारी अभियान’ नाराका साथ आफ्नै नाममा स्थापना गरेको रुकमांगद कटवाल ट्रस्टका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बताए, ‘त्यसैले मैले जीवनमा शिक्षाको महत्व बुझेको छु र शिक्षा क्षेत्रमा केही काम गर्न चाहन्छु । मेरो काम त्यस्ता मानिसहरुका लागि हुनेछ, जसले गरिबीका कारण सहजै पढ्न पाइरहेका छैनन् ।’
नेपालमा शिक्षालाई पर्याप्त महत्व नदिएको गुनासो गर्दै कटवालले भने, ‘संविधानसभाबाट संविधान बनेको छ । तर, त्यहाँ त्यस्ता मानिस लिएर स्कुल–कलेज नदेखेका मानिस राखियो । उनीहरुप्रति मेरो कुनै पूर्वाग्रह छैन तर त्यस्ताबाट हामीले कस्तो अपेक्षा गर्ने ?’

छात्रबृत्तिमा ६ लाख ६७ हजार
प्रधानसेनापति भएकै बेला समेत राजनीतिक अभिव्यक्ति दिएर विवादमा समेत आउने गरेका र त्यही कारण माओवादीका कटु आलोचकका रुपमा चिनिने कटवालले अवकाशपछि के गर्लान् भन्ने जिज्ञासा थियो । कतिपयले कुनै दलमा सामेल हुन्छन् भन्ने अनुमान गरेका थिए भने कतिपयले उनी आफैँ दल बनाउँदैछन् समेत भनेका थिए । तर, सञ्चारमाध्यम र भेटघाटहरुमा प्रायः राजनीतिक कुरा मात्रै गर्न रुचाउने कटवालले सार्वजनिक जीवनमा भने आफूलाई राजनीतिबाट अलग्गै राखिरहेका छन् ।

कटवालले ट्रस्टका नामबाट समाजसेवा गर्ने अभियान थालेका छन् । गत वर्ष भूकम्पबाट प्रभावित काभ्रे र ओखलढुंगाका बासिन्दा र विद्यालयलाई सहयोग गरेका उनी अब चाहिँ विशुद्ध रुपमा शिक्षा क्षेत्रमै केन्द्रित हुनेछन् ।

अहिलेसम्म कटवालले ट्रस्टका माध्यमबाट ६ लाख ६७ हजार रकम छात्रबृत्ति वितरण गरेका छन् । जाजरकोटकी विमला खत्रीको नर्सिङ पढ्ने चाहने भए पनि आर्थिक अवस्थाले धान्न नसकिरहेको खबर कटवालसमक्ष आएपछि उनी सहयोग गर्न तयार भए । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षे कोर्सका लागि सबै रकम ट्रस्टले उपलब्ध गराइदिएको छ ।

हुम्लाका जगदीश हमालको संगीत सिक्ने अभियानमा पनि ट्रस्ट सहयोगी बनेको छ । ठमेलको गन्धर्व संगीत केन्द्रमा आठ वर्ष लामो शिक्षा लिन थालेका उनका लागि बाँकी चार वर्षको जोहो पनि ट्रस्टले गरिदिएको छ ।

छात्रवृत्ति कसरी वितरण हुन्छ र के कुराले कटवाललाई छुन्छ ? कार्यक्रममा उनले त्यो पनि प्रस्ट्याए । जस्तो, वालविवाह गर्न नमानेवापत घरबाट निकालिएको पर्साकी रिंकु ठाकुरको समाचार पढेर उनी थामिन सकेनन् । एक्सन वक्र्स नेपाल संस्थासँग मिलेर उनले रिंकुलाई शिक्षा र पुनस्थापनाका लागि सहयोग गरिरहेका छन् ।

उक्त संस्थामा कार्यरत मदन पुरस्कार विजेता राधा पौडेल भन्छिन्, ‘कुनै कुरा समाचारमा आउँदैमा पूर्ण हुँदैन । त्यसपछिका जटिलतामा सहयोग गर्ने हातहरु चाहिन्छन्, जुन काम ट्रस्टले गरेको छ ।’

आफू जन्मेको ओखलढुंगाको निशंखु र त्यस वरपरका विद्यार्थीलाई कटवालले सहयोग गरिरहेका छन् । ट्रस्टको नियमित कामबाहेक जापानबाट आएको १६ लाख रकमले काभ्रेको दाप्चास्थित वाल उज्ज्वल माविको भवन बनाउने काममा पनि उनी सक्रिय छन् ।
शिक्षाप्रति कटवालको लगाव प्रधान सेनापतिकाबाट अवकाश पाएपछि मात्रै देखिएको होइन । पदमा रहेकै बेला ०६५ मा उनले आमा धर्मकुमारी कटवालका नाममा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुका साथै आफू जन्मेको ठूलाछाप गाविसको निशंखेमा उमा कटवाल क्याम्पस पनि स्थापना गरेका छन् ।

जग्गा बेचेको पैसा
कार्यक्रममा रुकमांगद कटवाल ट्रस्टले समाजसेवा गरेको फेहरिस्त सार्वजनि हुँदै गर्दा सहभागीका मनमा प्रश्न उब्जिसकेको थियो, स्रोत चाहिँ के रहेछ ? आफ्ना पालाका सैनिक अधिकारीहरु, समाजसेवी, उद्यमी र पत्रकारहरुका बीचमा कटवालले त्यसको पनि रहस्य खोले ।
०४४ सालमा हङगकङबाट फर्केपछि कटवालसँग केही रकम बचेको रहेछ । सैनिक सहचारीका रुपमा तीन वर्ष त्यहाँ बस्दा बचेको पैसामध्ये २ लाख ९० हजारमा उनले काठमाडौंमा घडेरी किनेछन् । उनी प्रधानसेनापति भएको बेलामा एकजना जग्गा कारोवारीले भनेछन्, ‘छ करोडमा जग्गा दिनूस्, तीन करोड अहिल्यै बैना राख्नूस्, तीन करोड जग्गा पास हुने दिनमा दिन्छौँ ।’

कटवालकी श्रीमती उमाले पनि बेचिहालौँ भनेकी रहिछन् । तर, त्यतिबेला उनलाई रकमको त्यति आवश्यकता रहेनछ । पछि शशी भवनबाट बाहिरिएपछि बेच्न खोज्दा त जग्गाको भाउ निकै घटिसकेको रहेछ । ‘त्यही जग्गा २ करोड ५२ लाखमा बेच्यौँ’, कटवालले सुनाए, ‘त्यसमध्येको दुई करोड रुपियाँ अक्षय कोषमा राखेका छौँ र त्यसको ब्याजबाट आउने रकमले छात्रबृत्ति दिने हो ।’

ट्रस्टका उपाध्यक्ष युवराज घिमिरेले रकम कति छ भन्ने ठूला कुरा नभएको उल्लेख गर्दै कुन काममा हात हालियो भन्ने महत्वपूर्ण रहेको बताए । उनले भने, ‘धेरै रकम भएका मानिस पनि होलान् तर कटवालले जुन काममा हात हाल्नुभएको छ, यो पवित्र छ ।’

ट्रस्टमा को–को ?
०७१ भदौ ३० जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको रुकमांगद कटवाल ट्रस्ट सञ्चालनका लागि विधान त हुने नै भयो, कार्यसञ्चालन निर्देशिका समेत बनाइएको छ । ट्रस्ट सञ्चालनका लागि कटवालकै अध्यक्षतामा गठित सात सदस्यीय समितिमा बरिष्ठ पत्रकार युवराज घिमिरे उपाध्यक्ष छन् भने जगतबहादुर कटवाल सचिव र सुलक्षणा ढकाल कोषाध्यक्ष छन् । यसैगरी, सदस्यमा पदमा हिराचन, अनिता शर्मा र जितुबहादुर नेपाल छन् ।

 स्रोत . पहिलो न्यूज

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*