रैथाने बीउ पाउनै गाह्रो

दैलेख । कुनै समय फापरको भारी बोकेर दैलेखीहरू नुन लिन नेपालगन्ज जान्थे । लेकाली भूभागहरूमा प्रशस्त फापर फल्थ्यो । धेरै वर्ष बितेको छैन । फापर लोप भइसकेको छ । ‘नयाँ पुस्तालाई फापर कस्तो हुन्छ भन्नेसम्म थाहा छैन,’ मेहेल्तोलीका ७९ वर्षीय जयबहादुर खड्काले भने, ‘निकै स्वादिलो हुन्थ्यो । आजभोलि सबैले लगाउनै छाडे ।’

पहिले सिँचाइ नहुने पाखोबारीमा फापर खेती गरिन्थ्यो । फापर फुलेका पखेरा निकै मनमोहक हुन्थे । मेहेल्तोली, जगन्नाथ, सल्लेरी, लालीकाँडा, बालुवाटार, कालिका, भवानी, काशीकाँध, रानीवन, कुसापानी, विशाला र गुराँसे क्षेत्रका कृषकहरूले फापर रामै्र फलाउँथे । खेत नहुने किसानका लागि यो बाली जीविकाको महत्त्वपूर्ण आधार बनेको थियो । ‘घिउ, फापर, जुनेलो, गहत, मास लिएर हाट जान्थ्यौं । तलतिर (नेपालगन्ज) बाट नुन, चिनी, लत्ताकपडाजस्ता सरसामान ल्याउथ्यौं,’ जयबहादुरले पुराना दिन सम्झिए । पहिला आफंैले मिहेनत गरी फलाएका अन्नबालीको आजभोलि खेती हुन छाडेपछि पुराना कृषक चिन्तित छन् ।

फापर मुख्यतया दुई खालको हुन्छ, तिते र मिठे । तिते फापर मधुमेहका रोगीका लागि वरदान मानिन्छ । अचेल मुस्ताङ, मनाङजस्ता जिल्लाबाट मगाइएको फापरको ढिँडो सहरहरूका धनाढ्यदेखि चिनीरोगीका महँगो परिकार बनिसकेको छ । कुनैबेला खाद्यान्नमा आत्मनिर्भर दैलेख स्वादिलो कालो मास, भटमास, घिउमा प्रख्यात मानिन्थ्यो ।

फापर मात्र होइन कागुनो, चिनो, जुनेलो, माटेका बोट देखिनै छाडेका छन् । कृषि कार्यालयले खरिद गर्न सार्वजनिक सूचना जारी गरे पनि चिनोको बीउ भेटाउन सकेन । गहत, मास, कालो भटमास, कोदो, जौजस्ता बाली पनि लापोन्मुख अवस्थामा छन् । केही बालीको एकाध ठाउँमा खेती गरिन्छ । उत्पादन भने पर्याप्त छैन ।

कृषकहरूको रैथानेभन्दा उन्नत बालीतर्फ आकर्षण बढेको छ । भाते मानसिकता र बजारीकरणको समस्याले पुराना बालीको खेती हुन छाडेको कृषक अगुवाको भनाइ छ । महँगो चामल किनेर खानेहरूले आफ्नै महत्त्वपूर्ण बाली लगाउन छाड्ने गर्दा निम्न वर्गीय किसान परिवारले खाद्य अभाव भोग्नुपरेको छ ।

जिल्ला कृषि कार्यालयले गत वर्षदेखि कृषिको जैविक विविधता संरक्षण तथा संवर्द्धन कार्यक्रम थालेको छ । निमित्त वरिष्ठ कृषि अधिकृत सूर्यनाथ योगीले भने, रैथाने बालीनालीको संरक्षण, प्रचारप्रसार र प्रर्वद्धन गर्न त्यस्ता लोपोन्मुख बीउबिजनको संकलन र वितरण गर्दै आएका छौं । कतिपय कृषकले लगाउनुभएको छ ।’ उनले फापर प्रतिहेक्टर एक टनसम्म उत्पादन हुने गरेको बताए । कार्यालयले दैलेखस्थित कृषि अनुसन्धान केन्द्रलाई केही पुराना बालीको बीउ हस्तान्तरण गरेको छ ।

 

प्रकाशित मितिः माघ २७, २०७१ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*