नेविसंघ अध्यक्षका प्रत्यासीहरु भन्छन् ः अबको नेतृत्व स्वस्थ प्रतिष्पर्धाबाट

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । ९ वर्षपछि हुन लागेको नेविसंघको ११ औँ महाधिवेशनमा आधा दर्जनभन्दा बढीले अध्यक्षमा आआफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्षका प्रत्यासीहरुले अबको नेतृत्व स्वस्थ प्रतिष्पर्धाबाटै चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले टिके प्रथाबाट आए संगठन धराशयी र नेपालको विद्यार्थी आन्दोलन नै कमजोर हुने दाबी गरेका छन् ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी नैनसिंह महरले टिके प्रथामा कसैले विश्वास गर्न नहुने भन्दै अबका नेतृत्व प्रजातान्त्रिक मुल्य र मान्यता ne bi sangaअनुरुप प्रतिनिधिहरुको भोटिङ्बाट आउनुपर्ने स्पष्ट पारे । महरले आफू नेतृत्वमा पुगे भ्रष्टाचारमुक्त शैक्षिक प्रशासन, नेविसंघ कल्याणकारी कोष अघि बढाउने, संगठनलाई गतिशिल र अनुशासित बनाउने दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी मनोजमणि आचार्यले ११ औं महाधिवेशन एकताको महाधिवेशन हुने उल्लेख गर्दै महाधिवेशनलाई यो वा त्यो बहानामा अन्यौलमा पार्ने काम भैरहेको तर्फ ईंगित गर्दै भने,‘यो कार्य हामीलाई कुनै हालतमा स्विकार्य छैन ।’ आचार्यले आफू पार्टीको आधिकारिक उम्मेद्धवार भएको भन्दै संगठनलाई बलियो, अनुशासित बनाउन र भोलिको बलियो काँग्रेस बनाउनका लागि आफ्नो उम्मेद्धवारी रहेको बताए ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी शुभराम बस्नेतले प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै प्रतिनिधिहरुले नेतृत्वमा आकांक्षीहरुको कामको मुल्यांकन गर्ने वेला आएको बताए । बस्नेतले आफू विगत लामो समयदेखि विद्यार्थीको हक अधिकारको लागि लडेको भन्दै आफू नेतृत्वमा पुगे संगठनलाई सशक्त र प्रभाकारी बनाउने दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी सरोज कुमार थापाले आफू गुटगत नेता भन्दा पनि विद्यार्थीहरुको साझा उम्मेद्धवार भएको दाबी गरे ।
थापाले स्वर्गीय कृष्ण प्रसाद भट्टराईको आर्दश, निष्ठा र त्यागको राजनीति प्रभाव आफूमा रहेको भन्दै नेविसंघलाई सोही अनुसार प्रभावकारी रुपमा अघि बढाउने पक्षमा आफू रहेको बताए ।
अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद अधिकारीले गणतान्त्रिक आन्दोलनमा आफूले अग्रणी भुमिका खेलेको भन्दै तमाम नेविसंघका साथीहरुले आफ्नो योगदानको कदर गर्ने वेला आएको बताए ।
उनले अबको नेतृत्व कुनै हालतमा भागबण्डाबाट नभई अधिवेशनबाटै चयन गर्नुपर्नेमा जोड दिँदै भने,‘म निर्वाचित भएँ भने सशक्त र प्रभावशाली नेविसंघ बनाउन लागिपर्नेछु ।’ उनले विद्यार्थी आन्दोलनलाई सही दिशामा लैजाने र स्ववियु निर्वाचनको लागि समेत विशेष पहल गर्ने दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी कुन्दनराज काफ्लेले विधिवत महाधिवेशनको पक्षमा आफू रहेको भन्दै मुलुकको शैक्षिक कुरीतिको विरुद्धमा लड्न र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनको लागि आफ्नो उम्मेद्धवारी रहेको बताए । काफ्लेले आफू नेतृत्वमा पुगे संगठनलाई विशेष गति दिने दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी क्षितिज भण्डारीले संगठनलाई बलियो र सशक्त बनाउन आफ्नो उम्मेद्धवारी रहेको उल्लेख गर्र्दै चुनावी मैदानमा आफू सबैको साझा उम्मेद्धवार बनेको र सबै पक्षलाई समेटेर संयुक्त प्यानल बनाएर अघि बढ्ने बताए । भण्डारीले भने,‘प्रतिष्पर्धाबाटै नेतृत्व चयन हुनुपर्छ, भोटर लिष्ट तत्काल प्रकाशित बनाउनुपर्छ ।’
त्यस्तै अध्यक्षकी महिला उम्मेद्धवारी विनिता अधिकारीले नेविसंघभित्रको चूनौतिहरु सामना गर्दै अघि बढ्ने प्रणका साथ आफूले अध्यक्षमा उम्मेद्धवारी दिएको बताईन् ।
अधिकारीले थपिन्,‘नेविसंघ आज अराजक बनेको छ, यसलाई अनुशासित बनाउने र वैज्ञानिक र व्यवहारिक शिक्षामा जोड दिनेछु ।’ उनले नेविसंघका देशभरिका कार्यकर्तालाई देश विकासको लागि भोलुन्टियरमा खटाउने र सबै खोले विकृति र विसंगतीलाई अन्त्य गर्ने लगायत आफ्ना मुख्य एजेण्डा रहेको बताईन् ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी आनन्द त्रिपाठीले विद्यार्थीहरुले आफ्नो नेतृत्व चुनावी माध्यमबाट चयन गर्न पाउनुपर्ने भन्दै संगठन हाक्न सक्ने व्यक्तित्व स्वच्छ प्रतिष्पर्धाबाटै छनौट गर्नुपर्नेमा जोड दिए । उनले भने,‘सबै साथीहरु मिलेर नै नेविसंघलाई जिताउने अभियानमा लाग्नुपर्छ, क्रियाशिल मान्छे नेतृत्वमा आउनुपर्छ, मन गरेर वा व्यक्तिगत आकांक्षा राख्दैमा हुँदैन् ।’
अध्यक्षका अर्का प्रत्यासी दिपक भट्टराईले आफू नेताको भन्दापनि विद्यार्थीहरुको साझा उम्मेद्धवार भएको उल्लेख गर्दै अहिलेको २१ औं शताब्दी अनुसार नै नेविसंघलाई नेतृत्व प्रदान गर्न सक्षम रहेको दाबी गरे ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी निलकण्ठ रिजालले टिका लगाएर भन्दापनि निर्वाचनको माध्यमबाटै नेतृत्व चयन गर्नुपर्ने बताए । उनले विद्यार्थीको हकहितको लागि आफू लागिपर्ने समेत दाबी गरे । उनका अनुसार अबको नेविसंघको नेतृत्वमा सक्षम र विद्यार्थी आन्दोलनलाई सही दिशा दिन सक्ने व्यक्तित्व आउनुपर्ने बताए ।
अध्यक्षका अर्का प्रत्यासी रत्न कार्कीले सैद्धान्ति र वैचारिक रुपमै संगठनलाई बलियो र सशक्त बनाउनकै लागि आफ्नो उम्मेद्धवारी रहेको दाबी गरे । उनले आफू निर्वाचित भए काम र विचारको दृष्टिकोणले संगठनलाई सक्रिय बनाउने दाबी गरे ।
अध्यक्षकै अर्का प्रत्यासी लक्ष्मण आचार्यले अबको नेतृत्व गुटको आधारमा भन्दापनि उसको योग्यता, क्षमताबाट आउनुपर्ने बताए । उनले आफूसँग नेविसंघलाई बलियो, सशक्त र प्रभावकारी बनाएर लैजाने क्षमता रहेको दाबी गरे ।
अध्यक्षका अर्का प्रत्यासी पदमराज पन्तले विधान र विधिसम्वद्ध तरिकाले अबको नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । पन्तले भ्रष्टाचार, गुण्डागर्दीको अन्त्य गर्दै विद्यार्थी आन्दोलन सही ढंगले अघि बढाउन अबको नेविसंघ सक्रिय हुनुपर्ने धारणा राख्दै यसकै लागि आफ्नो उम्मेद्धवारी रहेको स्पष्ट पारे ।
अध्यक्षका अर्का प्रत्यासी विरेन्द्र शर्माले नेविसंघको गुमेको शाखलाई माथि उठाउन र विद्यार्थी आन्दोलनाई गतिशिल बनाउनको लागि आफ्नो उम्मेद्धवारी रहेको भन्दै प्रतिनिधिहरुले आफ्नो विवेकलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । एक सय ५१ कार्यसमितिमा एक सय २९ निर्वा्चित हुनेछन् भने २२ सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछन् । एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमामन्त्री, र निर्वा्चित एक कोषध्यक्ष सहित केन्द्रिय कार्यसमिति एक सय ५१ सदस्यीय रहनेछ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*