डेकेन्द्र बाँचेका भए…

प्रकाश अधिकारी   .।     उहाँले पत्रकारिता गर्दा माध्यमिक तहमा पढ्दै थिएँ । अपहरण, हत्या हुँदा प्लस टु पढ्दै थिएँ । त्यसैले उहाँसंग संगत हुने, चिनजान हुने मौका नै थिएन । परिचित नहुँदा उहाँको स्वभाव, आनीबानी, पे्ररणाबारे कुनै याद हुने कुरा पनि भएन । जब पत्रकारिता क्षेत्रमा प्रवेश गरें । तब सुनिएको नाम हो यो, अर्थात् डेकेन्द्रराज थापा । करिब ०६४ सालदेखि सुरु भएको मेरो पत्रकारितामा धेरैजसो समय यही नाम सुनियो । थुपै्र न्यूज उहाँकै बारेमा लेखियो । धेरैपटक उहाँकै नाम उच्चारण गरियो । उहाँको दुखद र अस्वभाविक हत्यापछि परिवारले लडेको न्यायको 774190_10200399717055848_442934345_oलडाईमा एक जिम्मेवार पत्रकारका नाताले सहभागी पनि भइयो । मेरो पत्रकारिता जीवन र, कान्तिपुरसंगको आवद्धतामा भुल्नै नसकिने न्यूट स्टोरीहरुमा यही दिवंगत पात्रसंग सम्बन्धित छन् । अहिले लाग्छ, डेकेन्द्रराज थापा बाँचेको भए, उहाँको सामिप्यतामा हुर्कन सकेको भए… । तत्कालिन युद्धरत माओवादी पक्षबाट जुनप्रकारको घटना भयो । त्यसको चौतर्फी निन्दा भयो । अझ हुँदैछ गरिदैछ । चाहे पत्रकारिता क्षेत्र होस् चाहे, सामाजिक न्याय र मानवअधिकारको क्षेत्र होस् । राजनीतिक क्षेत्र । सबैतिरबाट माओवादीको यही कुकर्मको आलोचना अझ गरिदैछ । यो माओवादीका लागि अन्त्यहिन आलोचना बन्न पुगेको छ । यसको मूल्य माओवादीले दैलेखमा मात्र होइन करिब देशभर चुकाँउदै आएको नतिजाले देखाएको छ । माओवादी नेताहरुले बेलाबेला अभिव्यक्त गर्ने स्वीकारोक्ति प्रष्ट पारेको छ । उहाँको अवसानपछि यहाँको पत्रकारिता जुर्मुराएको हो । हामी कलिला पत्रकारहरुको जमात् उहाँकै अवसानपछि बढेको हो । ०६२÷६३ पछिको दोस्रो आन्दोलनको सफलता र माओवादी जनयुद्धको अन्त्यका कारण दैलेखको पत्रकारिता बामे सर्ने अवस्थामा पुगेको हो । यस्तो अवस्थामा साँच्चिकै डेकेन्द्र बाँचेका भए हाम्रो पत्रकारिता अझै निखारिन सक्थ्यो । परिपक्क बन्न सक्थ्यो होला । उहाँजस्तै निर्भिक, कसैसंग सम्झौता नगर्ने नझुक्ने बन्न सक्थ्यो होला । हामीले पनि उहाँकै सिको गरेर आफ्नो कलम तिर्खान सक्थ्यौं होला । दुर्भाग्य क्रुर हत्या भो । जिल्लाको पत्रकारिताले त अभिभावक गुमायो । उम्रन लागेको पत्रकारिताको मुनालाई निमोठ्यो । पत्रकारिताप्रति डर जन्मायो । तैपनि, जिल्लाको पत्रकारिता र पत्रकारहरुको अठोट हत्तोसाही भएन । छैन् अझैं पनि । उहाँ भएको भए अझ हामीमा हत्तपत्त गल्ती पनि नगर्ने, झुक्दा पनि नझुक्ने स्वभाव हुन्थ्यो होला । यदि उहाँले आफूलाई क्रुर यातना दिने पक्षसंग झुकेको भए, उनीहरुले चाहेका कुरामा सहमत भएको भए उहाँको अवसान पनि सायद हुन्थेन होला । किनकी, उहाँ आफूले गल्ती नगरेपछि सम्झौता पनि नगर्ने मानिस हो भन्ने कुरा उहाँले अपरहणमै छँदा परिवारलाई पठाएको पत्रले पुष्टि पनि गरेको छ । पक्की पनि त्यतिबेलाको असहज परिस्थितिमा पत्रकारिता गर्ने ती डेकेन्द्र बाँचेको भए अहिले पनि हामीले पत्रकारितामै देख्न सक्थ्यौं । अग्रज पत्रकार, अभिभावकका रुपमा उहाँसंगै हुँदा थप उत्साही, आशा र भरोसामा बाँच्न सक्थ्यौं । त्यसैले उहाँको रिक्ततामा धेरै अभावको सामना गरेको छ दैलेखको पत्रकारिताले । गुरुलाई चुँडेर लग्दा हामी अर्ध शिक्षित चेला बन्न पुग्यौं । डेकेन्द्र बाँचेका भए दैलेखमा दुइटै निर्वाचनमा दुइटै क्षेत्रमा तेस्रो स्थानमा माओवादी खुम्चिनुपर्ने अवस्था आउँथेन । किनकी, माओवादीलाई उहाँकै हत्याले दैलेखमा साइजमा ल्याएको हो । यो कुरा कांगे्रस एमालेले पनि बुझ्न सकून । माओवादीले त राम्ररी बुझिसके । त्यसैले एउटा पत्रकारको बलिदानी, एउटा पत्रकारको कलममाथि धावा बोल्दा कति महंगो मूल्य चुकाउनुपर्छ भन्ने चेतना हाम्रा नेताहरुलाई बोध हुनुपर्छ । हामी ठूलो पार्टीमा हुनुमा डेकेन्द्रको मृत्युले काम गरेको छ भनेर कांगे्रस एमालेले पनि बुझेर डेकेन्द्रप्रति सच्चा शहिदको रुपमा सम्झन आवश्यक छ । डेकेन्द्रलाई राष्टिय अन्र्तराष्टियकरण गर्ने सन्दर्भमा छाती फुलाएर सहयोग गर्न अग्रसर हुनुपर्छ । जे नहुुन थियो भयो । अब राजनीतिक गन्ध दिएर डेकेन्द्रलाई सम्झन कसैले कन्जुस्याइँ गर्ने होइन् । उहाँको देखाएको बाटो, उहाँका कर्महरुको सम्मान गर्न सके त्यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*