नेपालमै पहिलोपटक मप विश्वविद्यालयमा हाइड्रोपावर विषयको पढाई सुरु

२९ साउन, सुर्खेत । नेपालमै पहिलोपटक सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाइड्रोपावर (जलविद्युत)सम्बन्धी पढाई हुने भएको छ ।
छोटो समयमा विभिन्न नयाँ विषयसहित ५० बढी विषयहरुको अध्यापन भइरहेको मप विश्वविद्यालयमा यही शैक्षिक सत्रबाट इन्जिनियरिङ संकायतर्फ हाईड्रोपावर इन्जिनियरिङ पढाई सुरु हुन लागेको हो ।

नेपालमा हाइड्रोपावरको सम्भावना धेरै भएपनि जनशक्ति अभाव भएकोले उक्त जनशक्तिको आपूर्तिका लागि मप विश्वविद्यालयमा यो विषयको अध्यापन सुरु गर्न लागिएको हो । अधिक सम्भाव्यता हँुदाहँुदै पनि नेपालमा जलविद्युत उत्पादन गर्न नसक्नुको एउटा कारक जनशक्तिको अभाव पनि भएकोले मध्यपश्चिम विश्वविद्यालयले त्यसको पूर्ति गर्नका लागि यो विषयको अध्यापन सुरु गर्न लागेको इन्जिनियरिङ संकायका निमित्त डीन अनन्तराज घिमिरेले बताए ।

नयाँ विषयको अध्यापन सुरु गर्ने सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा निमित्त डीन घिमिरेले अहिले प्रवेश परीक्षाका लागि आव्हान् गरिएको भन्दै आगामी भदौ ११ गते राजधानी काठमाडौं र सुर्खेतमा प्रवेश परीक्षा लिइने बताए । पहिलो सेमेस्टरमा ४८ जनाको कोटा रहेको छ ।

उनीहरु चार वर्षमा जलविद्युतका इन्जिनियर बन्नेछन् । विश्वविद्यालयले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाबाट एक÷एक जनाका लागि कोटा सुरक्षित गरेको छ । एक जनालाई भने पूर्ण छात्रवृत्तिमा अध्यापन गराइने घिमिरेले बताए । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले चार वर्षमा बढीमा ४० हजार मात्रै शुल्क बुझाउनुपर्ने छ ।

छात्रवृत्ति नपाएका अन्य विद्यार्थीहरुले भने चार वर्षमा तीन लाख ८४ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ । विश्वविद्यालयले तयार गरेको यो विषयको कोर्षमा ६ महिनाको इन्टर्नसीपको व्यवस्था पनि गरिएको छ । यसले गर्दा दक्ष जनशक्ति उत्पादन हुने मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिए । कोर्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको भन्दै उनले जनशक्ति अन्तर्राष्ट्रिय बजारमा पनि खपत हुने दावी गरे ।

हाइड्रोपावर इन्जिनियरिङ अध्ययन गराउनका लागि अहिले विश्वविद्यालयले आवश्यक पूर्वाधारहरुको पनि व्यवस्था गरिसकेको छ । पहिलो एक वर्ष मप विश्वविद्यालयको इन्जिनियरिङ संकायमा रहेको जनशक्तिले नै अध्यापन गराउन सक्ने जनाइएको छ । त्यसपछि कोर्ष पूरा गर्नका लागि नर्वेले जनशक्ति सहयोग गर्ने वचन दिएको रजिष्ट्रार मल्लले बताए ।

“सबै तयारी पूरा भएको छ, आर्थिक, भौतिक पूर्वाधार सबै तयारी भइसकेको छ”, उनले भने, “तत्कालका लागि पढाई सुरु गर्न अहिलेकै जनशक्ति पर्याप्त छ, त्यसपछि नर्वेले सहयोग गर्ने वचन दिएको छ ।”

जलविद्युतको क्षेत्रमा आवश्यक जनशक्ति देशभित्रै उत्पादन हुन नसक्दा अधिकांश विदेशी जनशक्तिको भरपर्ने बाध्यता रहेको र नेपालीले नेपालमा जलविद्युत उत्पादनको सम्भाव्यताको अध्ययनसमेत गर्न नसकेको अवस्थामा मप विश्वविद्यालयको यो प्रयास महत्वपूर्ण हुने मल्लको भनाइ छ ।

विश्वविद्यालयको दायरालाई फराकिलो बनाउनका लागि पनि यो विषयको अध्यापन सुरु गरिएको भन्दै उनले हाइड्रोपावर इन्जिनियरिङ पढ्नका लागि सुर्खेतमा पढ्न जानुपर्छ भन्ने बनाउनका लागि पनि यो कोर्षको सुरुवात गरिएको रजिष्ट्रार मल्लले बताए ।

– See more at: http://www.enayanepal.com/?p=724#sthash.dGpJTKmQ.dpuf

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*