ठेकेदारले फेरि चमेलियाको काम रोके

chameliyaकाठमाडौ । चमेलिया जलविद्युत् आयोजनाको सिभिल ठेकेदार चाइना गेजुबा वाटर एन्ड पावर कर्पोरेसनले मंगलबारदेखि फेरि काम रोकेको छ । ठेकेदार गेजुबाले विद्युत् प्राधिकरणमा पत्र पठाएर टनेल स्क्विजजिङ (सुरुङ साँघुरिने समस्या समाधान) को पैसा नपाएको भन्दै काम रोकेको हो ।

‘चमेलियाको काम ठेकेदारले रोकेको जानकारी गराएको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘टनेल स्क्विजजिङको पैसा नदिएको भन्दै काम रोकिएको हो ।’ संसदको सार्वजनिक लेखा समितिको छानबिनले टनेल स्क्विजजिङमा एक किलो फलामको ६ सय रुपैयाँ खर्च गरेर अनियमितता गरेको ठहर गरेको थियो । समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई त्यससम्बन्धमा छानबिन गरी ठेकेदार गेजुबा र अनियमितताका लागि निर्णयमा संलग्न सम्पूर्ण अधिकारीलाई १० दिनभित्र कारबाही गर्न निर्देशन दिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको अध्यक्षको हैसियतले ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले टनेल स्क्विजजिङमा ठेकेदारले भनेजति रकम दिने निर्णय गरेकी थिइन् । उक्त निर्णय गर्दा प्राधिकरणले लागत मूल्यांकन गर्ने प्रचलनसमेत तोडिएको थियो । ठेकेदारका तर्फबाट परामर्शदाता साह सिल्ट आइकन जेभीले १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ मागेको थियो । उक्त रकममा करिब ५५ करोड रुपैयाँ अनियमितता भएको लेखा समितिको अध्ययनले देखाएको छ ।

टनेल स्क्विजजिङलगायत विषयमा अख्तियारले छानबिन गरिरहेको छ । प्राधिकरणले ठेकेदारले पाउनुपर्ने नियमित भुक्तानी भने गर्दै आएको छ । प्राधिकरणले केही समयअघि गेजुबालाई नियमित भुक्तानीबापत १८ करोड रुपैयाँ दिएको थियो । ‘नियमित कामको भुक्तानी गर्दागर्दै पनि ठेकेदारले काम रोकेको छ,’ ती अधिकारीले भने ।

पटकपटकको भेरिएसनका कारण यो आयोजनाको लागत सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारको क्षतिपूर्ति दाबीबाहेक १५ अर्ब ६ करोड रुपैयाँ नाघ्ने भइसकेको छ । त्यसमध्ये करिब ७ अर्ब ५१ करोड रुपैयाँ सिभिल ठेक्कामा जाने देखिएको छ । सिभिल ठेक्काको सुरु लागत अनुमान करिब २ अर्ब ८८ करोड रुपैयाँ मात्र थियो । गेजुबासँग २०६३ पुस ६ मा बिल अफ क्वान्टिटिज -बीओक्यू) ठेक्का सम्झौता भएको थियो ।

गेजुबाले काम रोकेको सम्बन्धमा प्राधिकरणका अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् । ठेकेदार गेजुबा निकट सूत्रले पनि काम रोकेको जनाएको छ । ‘बिनापैसा कसरी काम गर्न सकिन्छ ?’ स्रोतले भन्यो । प्राधिकरणका अधिकारीहरू भने गेजुबाले काम नरोकोस् भनेर टनेल स्क्विजजिङबाहेकका कामको नियमित भुक्तानी गरिरहेको बताउँछन् । ‘लेखा समितिले अनियमितिता पुष्टि भएको ठहर गरेको छ । त्यसमा अख्तियारले समेत छानबिन गरिरहेको छ,’ प्राधिकरणका अर्का अधिकारीले भने, ‘यस्तो अवस्थामा टनेल स्क्विजजिङको भुक्तानी दिने जोखिम मोल्न सकिँदैन ।’ ठेकेदारलाई काम सुचारु गराउन के गर्ने भन्ने सम्बन्धमा प्राधिकरणले निर्णय गरिसकेको छैन ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*