महालेखाले भन्यो : सुमार्गीसँग डेढ अर्ब उठाउ

काठमाडौँ : महालेखा परीक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको छ।

दुवै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व परिवर्तनमा कर छलिएको महालेखाले निश्कर्ष निकालेको हो।

महालेखाले गत चार असोजमा आन्तरिक राजश्व कार्यालय क्षेत्र नम्बर एकलाई पत्र लेख्दै ३५ दिन भित्र एक अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लाभकर उठाइ सक्न निर्देशन दिएको हो।

दुवै कारोबारमा व्यवसायी अजयराज सुमार्गी मुछिएका छन्।

यस्तो थियो सेयर किनबेच

२०६४ सालमा स्थापना भएको नेपाल स्याटलाइट टेलिकममा ५० प्रतिशत सेयर वेलायतस्थित द न्यु डिजिटेक इन्टरनेसनलको नाममा थियो। ४० प्रतिशत मुक्तिश्री टेलिकम, पाँच प्रतिशत सम्झना अर्याल, तीन प्रतिशत पाकिस्तान मोवाईल टेलिकम्युनिकेसन र दुई प्रतिशत बंगलादेशस्थित सेवा टेलिकमको नाममा कम्पनीको सेयर रहेको थियो।

२०६५ असोजमा साइप्रसस्थित एयरवेल सर्भिसेजले डिजिटेकको नाममा रहेको कम्पनीको सबै सेयर किन्यो। ५० हजार कित्ता सेयर पाँच करोड रुपैयाँमा किनबेच भयो, जुन कम्पनीको ‘पार भ्यालु’ मा थियो।

अर्कोतिर स्विडेनको कम्पनी टेलियासोनेरा एसिया होल्डिङले सन् २०११ मा एयरवेल सर्भिसेजको ५१ प्रतिशत सेयर किन्यो। मूल्य थियो एक सय ९१ मिलियन स्विडिस क्रोनर। एयरवेलको आधाभन्दा बढी हिस्सा लिने बित्तिकै टेलिया नेपाल स्याटलाइटको २५ प्रतिशत सेयरको स्वतः मालिक बन्न पुग्यो।

एक वर्षपछि सन् २०१२ मा टेलियाले एयरवेलको बाँकी ४९ प्रतिशत सेयर पनि किन्यो। त्यसका लागि टेलियाले दुई सय ९५ मिलियन स्विडिस क्रोनर खर्चियो। अब उसँग पाल स्याटलाइटको थप ५० प्रतिशत सेयरको स्वामित्व रहने भयो।

यता मुक्तिश्रीसँग रहेको नेपाल स्याटलाइटको सेयरमध्ये थप २५ प्रतिशत एयरवेलको नाममा नामसारी भयो। मुक्तिश्रीको सेयर स्वामित्व १५ प्रतिशतमा खुम्चियो भने एयरवेल ७५ प्रतिशतमा पुग्यो। जुन सेयरको वास्तविक मालिक टेलियासोनेरा थियो।

करमा ह्याङ्की प्याङ्की

साइप्रसमा दर्ता भएको एयरवेलको चुक्ता पुँजी एक हजार युरो रहेको थियो। तर यो कम्पनी खरिद गर्न टेलियाले दुई पटक गरि चार सय ८६ मिलियन स्विडिस क्रोनर खर्चेको थियो।

एयरवेलबाट नेपाल स्याटलाइट छुट्याउने वित्तिकै यो कम्पनीको मूल्याङ्कन तल झर्ने महालेखाको ठम्याइ छ। ‘टेलियासोनेराले चुक्ता पुँजी एक हजार युरो मात्र रहेको एयरवेल सर्भिसेज खरिद गर्न उच्च मूल्य तिर्नुमा सो कम्पनीको अधिनमा रहेको आय आर्जन गर्ने सम्पत्ति नेपालमा रहेको कारणले हो, नेपालमा रहेको सम्पत्तिसँग जोडिएको सेयर मूल्यलाई अलग गरेर हेर्दा उक्त कारोबार अस्तित्वविहिन हुन्छ’ महालेखाले करलाई लेखेको निश्कर्षमा छ।

सन् २०११ र २०१२ दुवै पटक नेपालमा नेपाल स्याटलाइटको सेयर पार भ्यालुमा नामसारी गरिए पनि एयरवेलको भाउ लगातार बढेको थियो। बीचको एयरवेललाई नघुसाइ सिधा हेर्दा तात्कालिन विनिमय दर अनुसार सन् २०११ मा नेपाल स्याटलाइटको २५ प्रतिशत सेयर लिन टेलियासोनेराले दुई अर्ब तीन करोड तीन लाख ३० हजार रुपैयाँ खर्चेको थियो। पछि थप ५० प्रतिशत स्वामित्व बढाउँदा तीन अर्ब ६७ करोड ८६ लाख रुपैयाँ तिरेको थियो। यसैमा लाभकर छलेको महालेखाको निश्कर्ष छ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०११ मा एक स्विडिस क्रोनर खरिद गर्न १० रुपैयाँ ६३ पैसा तिर्नु पर्थ्यो। सन् २०१२ मा यो दर १२ रुपैयाँ ४७ पैसा पुगेको थियो। यहि बिनिमयदर अनुसार कम्पनीले एयरवेललाई तिरेको स्विडिस क्रोनरको नेपाली मूल्य निकालिएको हो।

सन् २०११ मा टेलियाले तिरेको सबै रकम एयरवेलको फाइदा थियो। त्यस्तै सन् २०१२ मा तिरेको रकम मध्ये आधा एयरवेलले र आधा मुक्तीश्री टेलिकमले पाएका थिए। उनीहरुले खर्च कटाएर लाभकर तिर्नु पर्ने महालेखाले जनाएको छ।

सन् २०११ र २०१२ मा गरी एयरवेलले पाएको कूल तीन अर्ब ८७ करोड रुपैयाँ हुने र सेयरको सुरु मूल्य पाँच करोड रुपैयाँ कटाउँदा तीन अर्ब ८२ करोडमा लाभकर लाग्ने महालेखाले निचोड निकालेको छ।

यो लाभ रकमको २५ प्रतिशत लाभकर बापत ९५ करोड ५० लाख र त्यसको अहिले सम्मको ब्याज एवं जरिवाना तुरुन्त असुल गर्न महालेखाले एक नम्बर कर कार्यालयलाई निर्देशन दिएको हो।

मुक्तीश्रीको पनि समस्या

सुरुमा मुक्तीश्री टेलिकमले नेपाल स्याटलाइटको ४० प्रतिशत सेयर होल्ड गरेको थियो। सन् २०१२ मा एयरवेलको नाममा टेलियासोनेराले यसमध्ये २५ प्रतिशत सेयर खरिद गर्यो। त्यसका लागि टेलियाले एक अर्ब ८४ करोड खर्च गरेको जनाएको छ।

वास्तवमा यहाँ पनि कर छल्नकै लागि ह्याङ्की प्याङ्की गरिएको महालेखाको ठम्याइ छ। टेलियाले सन् २०१२ मा एयरवेलको ४९ प्रतिशत सेयर खरिद गर्न तीन अर्ब ६७ करोड ८६ लाख रुपैयाँ खर्च गरेको देखाएको छ। जबकी एयरवेलको अरु कुनै खास कारोबार छैन। नेपाल स्याटलाइटको माउ कम्पनी हुनु बाहेक उसको अरु परिचय पनि फेला नपरेको महालेखाले जनाएको छ।

जति बेला एयरवेलमा टेलियाको शतप्रतिशत सेयर पुग्छ, त्यतिनै बेला नेपालमा भने मुक्तीश्रीको सेयर नेपाल स्याटलाइटमा १५ प्रतिशतमा झर्छ। बाँकी २५ प्रतिशत एयरवेलको नाममा नामसारी हुन्छ त्यो पनि फेस भ्यालुमा।

नेपाल स्याटलाइटको २५ हजार कित्ता सेयर प्रति सेयर एक हजार रुपैयाँको दरमा किनबेच भएको विवरण पेश गरिएको थियो। जुन कम्पनीको चुक्ता मूल्य नै हो। महालेखा परीक्षकको कार्यालयले यो विषयलाई अस्विकार गरिदिएको छ। एयरवेलको भ्यालुएसन भनेकै नेपाल स्याटलाइटको भ्यालुएसन हुने उसको निचोड हो।

मुक्तीश्रीले २५ हजार कित्ता सेयर बेच्दा एक अर्ब ८४ करोड आय गरेको र त्यसमा सेयरको सुरु मूल्य दुई करोड ५० लाख कटाएर बाँकी रकममा लाभकर तिर्नु पर्ने महालेखाले ठहर गरेको छ। त्यस बापत अहिले सम्मको ब्याज र जरिवानाबाहेक ४५ करोड ३७ लाख ५० हजार लाभकर उठाउन महालेखाले कर कार्यालयलाई निर्देशन दिएको छ।

यसरी महालेखा परीक्षकको कार्यालयले दुवै कारोबारमा गरि कुल एक अर्ब ४० करोड भन्दा बढी लाभकर असुल्न निर्देशन दिएको हो। ३५ दिन भित्र कर नउठाए या उठाउनु नपर्ने चित्तबुझ्दो कारण नदिए आगामी वर्षको अडिटमा एक नम्बर कर कार्यालयको बेरुजुको रुपमा यो रकम राख्ने चेतावनी समेत महालेखाले दिएको छ।

यी कारोबारमा आयकर ऐनको दफा २, ३७, ३५ एवं करको दर अनुसूची एक को दफा दुई आकर्षित हुने र त्यसै अनुरुप कर उठाउनु पर्ने महालेखाले जनाएको छ।

महालेखा सरकारी कार्यालयहरुको आम्दानी र खर्चको अन्तिम अडिट गर्ने संवैधानिक अंग हो। सरकारले लिनु पर्ने आय सम्बन्धित कार्यलयले उठाउन नसकेको अवस्थामा महालेखाले बेरुजु लेखेर दवाव दिने गर्छ।

नेपालमा रहेको कम्पनीको वासलात बाहिरबाट कारोबार गर्ने र स्वयम् घोषणा नगर्दैमा कर नलाग्ने प्रश्न नआउने महालेखाको ठहर छ।

सुमार्गी कनेक्सन

यो कारोबारमा टेलियासोनेरा बाहेक अरु सबै कम्पनी व्यवसायी अजयराज सुमार्गीका हुन्। सम्झना अर्याल उनकी श्रीमती हुन् भने मुक्तिश्री टेलिकम र साईप्रसको एयरवेल सर्भिसेज समेत उनकै हो।

एयरवेलको केशमा महालेखाले रोचक तथ्य समेत उल्लेख गरेको छ। साइप्रसको कम्पनी रजिष्ट्रेसन विभागको अनलाइन पोर्टलमा गत अगष्ट २४ को विवरण अनुसार एयरवेलका पाँच जना सञ्चालकमध्ये दुई जना नेपालीको नाम थियो। त्यसमध्ये एक जना अजयराज सुमार्गी हुन्।

मुक्तिश्रीको बोर्डमा अजयबाहेक सम्झना, कृष्णप्रसाद शर्मा र राजेश शर्मा थिए। महालेखाले ट्रेस गरेको थाहा पाएपछि छ सेप्टेम्बरसम्ममा एयरवेलको सञ्चालकबाट नेपालीको नाम हटाइ सकिएको छ।

नेपालमा कर प्लान गर्नकै लागि सुमार्गीले साइप्रसमा एयरवेल खोलेको महालेखा परीक्षकको दावी छ। उनले चलाखीपूर्वक नेपाल स्याटलाइटको भ्यालुएसन एयरवेलको नाममा गराउँछन्। एयरवेलको सेयर टेलियाले किन्छ। त्यस बापतको पैसा नेपाल ल्याउन सुमार्गीले फेरि ब्रिटिस भर्जिन आइसल्यान्डमा जोधार नामको कम्पनी स्थापना गरेका थिए।

जब टेलियाले एयरवेल खरिदवापत् पैसा भुक्तानी गर्छ त्यो रकम जोधारको खातामा जान्छ। जोधारले सुमार्गीलाई ऋण दिन्छ। सुरुमा त उनी त्यो रकम राष्ट्र बैंकको अनुमतिसहित भित्र्याउन पनि सफल हुन्छन्। पछि राष्ट्र बैंकले रोक्का गरिदिएपछि अहिले सुमार्गीले यसरी ल्याउन लागेको तीन अर्ब रुपैयाँ हाराहारी रकम बैंकमा थन्किएको छ।

नेपाल स्याटलाइट र मुक्तिश्री दुवै कम्पनीको सेयर किनबेचमा जसले लाभ गरेको देखिए पनि त्यसको अन्तिम हकवाला सुमार्गी नै हुन्। त्यसैले महालेखाको निर्देशन बमोजिम कर तिर्न कर कार्यालयले जसको नाममा पत्र काटे पनि अन्तिम दायित्व सुमार्गीकै हुनेछ।

एनसेल प्रकरण जस्तै

महालेखा परीक्षकको कार्यालयको पछिल्लो कदमले एनसेलबाट लाभकर उठाउन थप बलियो नजिर स्थापना गरिदिएको छ। एनसेल बिक्री हुनु अघि उसको पनि माउ कम्पनी टेलियासोनेरा नै थियो। नेपाल स्याटलाइटमा लाभकर छल्न बीचमा एयरवेल खडा गरेझैं एनसेल प्रकरणमा पनि रेनल्ड होल्डिङ जन्माइएको छ।

महालेखा परिक्षकले आयकर ऐन ब्याख्या गर्दै नेपाली कम्पनीले गरेको उन्नतीको आधारमा जहाँ मूल्याङ्कन गरे पनि यहाँ कर लाग्ने निचोड दिएको छ। कर नलिएको खण्डमा सम्बन्धित कार्यालयको बेरुजु लेखिदिने महालेखाको चेतावनीले कर कार्यालयलाई थप दबाव समेत बढेको छ।

एनसेलको केशमा पनि कर कार्यालयले राम्रोसँग अडिट गरेर पुरा कर नलिए आफुहरुले उठाउन निर्देशन दिने महालेखाका एक अधिकारीले बताए। महालेखाले योसँगै स्मार्ट टेलिकममा भएको पटक पटकको सेयर नामसारीका विषयमा समेत अध्ययन गरेको छ। महालेखाले अध्ययनका क्रममा सबै टेलिकमका ‘अल्टिमेट बेनिफिसरी’को विवरण पनि खोजिरहेको छ। एनसेल बिक्री प्रकरणसँगै स्मार्टको स्वामित्व पनि दुई पटकभन्दा बढी हस्तान्तरण भइसकेको छ।

 

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*