त्रिशुलीमा एक दशकमा ५ सय ६१ को मृत्यु, १ हजार ८ सय १० सवारी दुर्घटना

त्रिशुली नदी किनारको सडक दुर्घटनामा परी अहिलेसम्म कतिले ज्यान गुमाए? प्रहरी भन्छः १० वर्षयता पाँच सय ६१ जनाले ज्यान गुमाए।

धादिङदेखि चितवनसम्मको सडक खण्डमा भएका सवारी दुर्घटनामा मात्रै यति धेरै ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अंगभंग हुनेका संख्या हजार नाघेको छ।

२०६३ यता नागढुंगाबाट धादिङ पसेपछि दुई सय २६ जनाले र चितवन पुगेपछि तीन सय ३५ जना गरी पाँच सय ६१ जनाले ज्यान गुमाएका हुन्।

मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका अनुसार त्रिशुली सडक खण्डमा मात्रै यी दुघर्टना भएका हुन्।

गत आर्थिक बर्षको अन्तिममा बुझाएको सरकारी तथ्यांकअनुसार मध्य क्षेत्रको त्रिशुली सडक खण्डमा मात्रै एक हजार आठ सय १० सवारी दुर्घटना भए।

मध्य क्षेत्रले धादिङ त्रिशुली सडक खण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’ मा राखेको छ।

प्रहरीका अनुसार २०७२ वैशाख ९ गते धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गयो। धादिङको नौबिसे –५ मा पशुपतिनाथ तिर्थयात्राको लागि आएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ भारतीय धार्मिक पर्यटक मरे।

धादिङ ट्राफिक प्रहरीका अनुसार २०७२-२०७३ मा ९५ सवारी दुर्घटना हुँदा ६५ को मृत्यु भयो भने एक सय २१ जना घाइते।

धादिङका ट्राफिक प्रहरी नायव निरीक्षक (सइ) रामचन्द्र घिमिरेका अनुसार गत साउन–भदौमा धादिङ त्रिशुली सडक खण्डमा ६ वटा सडक दुर्घटना भए। जसमा ७ जनाले ज्यान गुमाए भने ५ गम्भीर घाइतेका उद्धार गरियो।

गत भदौ १० गते बिहान रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशुलीमा खस्यो। त्यसबेला २५ यात्रुले ज्यान गुमाए भने १६ घाइते भए। १० जना अझै बेपत्ता छन्।

भदौ ११ गते चण्डीभन्ज्याङ–९ स्थित जलबिरेबाट ना३ख ४५५६ नम्बरको मालवाहक ट्रक त्रिशूलीमा खस्यो। वीरगन्जबाट तनहुँ गुडेको ट्रक त्रिशुलीमा आधा डुबेको थियो।

ट्रकको हुटमा बसिरहेका सात जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो।

त्यसैगरी, २१ भदौमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–७ मा पुलबाट त्रिशुली किनारमा ट्रक खस्दा दुई जनाको ज्यान गयो। दुई घाइते भए।

काठमाडौंबाट मुग्लिनतर्फ गुडेको ना३ख ९९०६ नम्बरको ट्रक चुमखोलाको पुलबाट त्रिशुली किनारमा खसेको थियो।

आइतबार मुग्लिन नजिकै घोप्टेभीरबाट पूर्वमुख्य सचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो। तीनजना मरे भने घिमिरे र उनका दुई भाइ बेपत्ता छन्। सशस्त्र प्रहरी विपद् व्यवस्थापनको कुरीनटार टोली खोज्दै नवलपरासीसम्म पुग्यो। तर, अझै फेला पारेको छैन।

दसै नजिकिँदा दुर्घटना अझ बढेको छ।

सवारी चाप, साँघुरो सडक र तीव्र गतिका कारणले दुर्घटना बढेको पाइएको छ।

यस खण्डमा साना र ठूला दुर्घटना नभएको दिन सायदै हुन्छ।

यात्रु र प्रत्यक्षदर्शीले दुर्घटनाको दोष चालकलाई दिन्छन्। चालकले मदिरा सेवन गरी गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना बढेका छन्।
सडकको दुरावस्थाका साथै गाडीहरुबीच ‘ओभरटेक’ गर्ने प्रतिस्पर्धा चल्दा पनि गाडी त्रिशुलीमा खस्छ।

२०६३ यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवा खोलासम्म भएका दुर्घटनामा तीन सय ३५ ले ज्यान गुमाएका छन्। जसमध्ये दुई सय ५२ पुरुष र ५८ महिला छन्। धादिङमा दुई सय २६ मध्ये एक सय ८९ जना पुरुष र ३७ जना महिलाले ज्यान गुमाएका छन्।

मुग्लिन–नारायणगढ र पृथ्वी राजमार्गअन्तर्गत ९५ किलोमिटर त्रिशुली किनारहुँदै यात्रा गर्नुपर्ने बाध्यता छ।

यस खण्डमा पहिरो खस्ने, जाम हुने भन्दै चालक मानसिक तनावमा गाडी चलाउँछन्। फलस्वरुप दुर्घटना हुने प्रहरीले जनाएको छ।

त्यसैगरी, पक्की पुलसमेत जीर्ण छन्। पुलमा एकतर्फी गाडी चलाउनुपर्ने भए पनि दुईतर्फी चलाउँछन्। धेरै गाडी र ट्रक तिनै पुलबाट खसेका छन्। र, पुलछेउका बार भाँच्चिएका छन्।

धादिंङ प्रहरी प्रमुख एसपी शरद खत्रीले दुर्घटना जति न्यूनिकरण गर्न खोजे नि बढेको बताए। खत्रीका अनुसार चालकहरुमा अनुशासनको कमि, अनावश्यक ओभरटेक गर्नु, तीब्र गति, साँघुरो सडक, यातयातका साधन बढ्दै जानु, पैदलयात्रीमा सवारी ज्ञानको कमिले पनि दुर्घटना बढे।

‘साँघुरो सडकमा ओभरटेक गर्न चालकहरूबीच प्रतिस्पर्धा चल्छ,’ चितवन जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने, ‘जहाँ अप्ठेरो मोड आउँछ, त्यहीं चालक निदाएकाले पनि ठूला दुर्घटना भएका हुन्।’

उनले अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीले नै भएको दाबी गरे।

चालक सवारी अनुमतिपत्र छ र छैन भनी अनुगमन नगर्नुले पनि ठूला दुर्घटना निम्तिएका हुन्। प्रहरीका अनुसार लामो दुरीका चालक थाक्छन् र पालो दिने अर्का चालक नहुँदा एक सेकेन्ड झकाउँदा नि गाडी सिधै त्रिशूलीमा खस्छन्।

एसपी कुँवरका अनुसार मुग्लिनदेखि धादिङको मौवा खोलासम्म त्रिशुलीको तिरैतिर २७ किमि र मुग्लिनदेखि जुगेडीसम्म साढे २५ किलोमिटर दूरी पार गर्नुपर्छ। जसमध्ये बढी खतरा नारायणगढ–मुग्लिन खण्डमा छ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*