प्रदेशको समृद्धिका लागि मेरो उम्मेदवारी

२०२६ सालमा दैलेख जिल्ला ठाटीकाँध गाउँपालिकाको छडाथानमा बुबा जगत शाही र आमा कोकिला शाहीको कोखबाट जन्मिएका राजबहादुर शाही एक इमान्दार कार्यकर्ता, कुशल संगठकका रुपमा स्थापित भएका छन् । २०३९ सालबाट राजनीति क्षेत्रमा लामो समयदेखि लागेका राज बहादुर शाही अहिले दैलेख जिल्ला क्षेत्र न २ ‘ख’ प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट टिकट पाएका छन् । शाहीले टिकट पाउनुको कारण, प्रदेश सभा ‘ख’को आर्थिक, समाजिक र सांस्कृतिक अवस्थालगायत विविध विषयमा पत्रकार नन्दकृष्ण आचार्यले कुराकानी गरेका थिए । प्रस्तुत छ तिनै कुराकानीको सार संक्षेपः

raj-bahadur-shahi

राजनीतिको सुरूवात कहिलेबाट सुरू गर्नुभयो ?

संगठित रुपमा मैले राजनीति सुरुवात २०३९ सालबाट सुरू गरेको हुँ । त्यति बेला मैले मजदुर किसान पाटिको विद्यार्थी संघको सदस्यता प्राप्त गरं । २०४६ सालमा विधार्थी संघ नेपालगञ्ज क्याम्पसको अधक्ष्य भएँ । त्यसै समयमा म हिरासतमा गएँ । जनआन्दोलनमा २०४९ सालमा जिल्ला कमिटि दैलेखको सदस्य, २०५२ मा एमाले र मजदुर किसानको एकीकरण भएर २०६९ साल सम्म जिल्ला कमिटिमा रहेर काम गरेको, २०५४ सालमा साविकको तोलिजैसी गाविस अधक्ष्यमा निर्वाचित, त्यस पछि गाविस राष्ट्रिय महासंंघको जिल्ला अधक्ष्य, पार्टीको सन्दर्भमा नवौं राष्ट्रिय महाधिवेशन को प्रतिनिधि २०६९ साल पछि नेकपा एमालेको अञ्चल कमिटिमा रहेर काम गरेको थिएँ ।

तपाइको राजनिती सुरू भएदेखि तपाइँलाई कस्ता समस्या आए र ती समस्यालाई कसरी समाधान गर्नु भयो ?

जीवनमा साना तिना समस्या त आहिनै रहन्छन । राजनीति समस्या भन्नाले विभिन्न घटनाक्रम २०४६ मै जनआन्दोलन भयो । त्यस जनआन्दोलनमा सहभागी भइयो । पञ्चायतको उत्तराद्वमा मानसिक डर, भय, तनाब आदि इत्यादि हुने नै भए । आन्दोलन सफल भए पछि अर्कै वातावरण सृजना भयो । त्यस समयमा घरपरिवार, आफन्त, गाउकै मान्छे डराउनुपर्ने अवस्था थियो । ती चरणहरू पार गरेर गइयो त्यस पछि बहुदल आयो । २०५२–५३ सालसम्म सामान्य समय बिताइयो । त्यसपछि फेरि दन्द्ध सुरु भयो । माओवादीले मलाई तीन पटक सम्म अपहरण गरे । त्यस पछि सर्वस्व हरण गरे । यस्ता विविध समस्याहरू झेल्न परेको थियो ।

तपाइँले टिकट पाउनुको मुख्य आधार के हो ?

मैले पाटिका नाममा लामो समयदेखि गरेको योगदान जनमतका कारण योग्यता क्षमताका रुपमा अरुभन्दा फरक देखेर पाटीले मलाई टिकट दिएको हो ।

मंसिर २१ को चुनाबमा तपाईंको पार्टीले जित्ने आधार के छ ?

हामीले देश र जनताका पक्षमा काम गर्दै आएका छौं । अझ भन्ने हो भने नाकाबन्दीको डटेर सामना गर्ने हामी नै हौं । हामी प्रति आम जनताको भरोसा छ । सथानीय तहको निर्वाचनमा चौतर्फि घेरावन्दीका बावजुद हामी पहिलो पार्टी भएका छौं । हामी त्यसै पहिलो भएका होइनौं । जनताले हाम्रो काम हेरेका छन्, हाम्रो लगानी हेरेका छन् । बृद्व वृद्वा देखि बालबालिका सम्मलाई हाम्रा कामहरुको बारेमा राम्रोसँग थाहा छ । त्यसैले हामी हाम्रा जनपक्षीय कामहरुका आधारमा विजय प्राप्त गछौं । हामी नगरेको कामलाई मैले गरेको भनेर प्रचार गर्दैनौं । त्यसैले मलाई लाग्छ, आम दैलेखबासीले यसपटक फेरि हाम्रो पार्टीले गरेको कामको मुल्यांकन गर्दै हामीलाई विजयको माला पहि¥याएर पठाउनेछन । हाम्रो जित सुनिश्चित छ ।

अर्को कुरा दैलेखको आम जनमत बामगठबन्धनको पक्षमा छ । व्यक्तिगत रुपमा पनि म लामो समयदेखि यद्दपी बाल्यकाल देखि नै मैले निरन्तर निस्वार्थ रुपमा जनताको काम गरेको छु जनताले म प्रति एकदम ठुलो आशा भरोसा अनि विस्वास मानेका छन र मलाई बिजय गराउछन पराजयको त परिकल्पनानै छैन बिजयी गराउने जनतालाई कसरी पराजय गराउछन भन्ने यसमा कुनै सङ्का नै छैन ।

अब तपाईंले टिकटपनि पाउनु भयो तपाईंले जितेपछि त्यहाका जनताले के पाउने ?

हामीले चुनाब जितेमा हामी प्रादेशिक संसद सदस्य हुने हो त्यस पछि प्रदेशमा सरकार बन्छ सरकार कार्यकारी बलियो हुन्छ जो स्थानिय सरकार निर्माण भएका छन जनताको रुपमा बढि भन्दा बढि काम गर्ने हो । मुलतः जनपक्षिय कानुन निर्माण गर्ने संघिय व्यवस्था छ त्यसलाई मजबुत गर्ने जनपक्षिय कानुन निर्माण गर्ने हाम्रो दायित्व हो ।

हामीले स्थानिय सरकारलाई अझ प्रभावकारी बनाउन संघ र प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउने त्यसका साथसाथै विकाश निर्माणका काम तिर लाग्ने जनताकालागी जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कामहरु हामी बाट हुन्छन । प्रत्येक व्याक्तिलाई रोजगारको वातावरण सृजना गर्ने छु । विभिन्न खालका रोजगारका कार्यक्रम ल्याएर दलित जनजाती गरिब परिवारका व्याक्तिलाई बढि प्राथमिकतामा राखेर रोजगारको सृजना गर्ने छौ । यहाँका जनताले छाक टार्नको लागि छिमेकि देशमा जानुपर्ने त्यहाँ गएर दुख भोग्नु पर्ने भएकाले अब यसलाई अन्त्यगरि छिटोभन्दा छिटो रोजगार दिने खालका योजना बनाएको छु ।

तपाईंले आठबीस, ठाटिकाँध र चामुन्डाबिन्द्रासैनीबाट भोट पाउने आधार के छ ?  

यी तीनवटै स्थानिय चुनाब जितेका छौ । यस क्षेत्रमा मैले विगत लामो समयदेखि काम गरेको हुनाले त्यहाँका जनताले म प्रति एकदम अटुट विश्वास गरिरहेका छन र बिजयको कुरा सुनिश्चित छ भन्ने विश्वास छ ।

चुनाब जितेपछि यहाँको प्रदेशक्षेत्रमा के–कस्तो विकास निमार्ण गर्ने योजना बनाउनु भएको छ ?  

हामीले यो प्रदेशलाई सरसर्ति हेर्दा यो प्रदेश अत्यन्त विकट अत्यन्त पिछडिएको अत्यन्त दुरदरात अविकसित देखिन्छ । राष्ट्रिय मापदण्ड हेर्दाखेरि अत्यन्त पिछडिएको देखिन्छ । यसमा अथाह सम्भावना छन । यो क्षेत्र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण क्षेत्र हो । यी प्राकृतिक स्रोतहरुको पहिचान गरेर यो क्षेत्रको लागि अधिकतम प्रयास गर्ने र यो प्रदेशलाई देशका अन्य प्रदेशभन्दा उन्नत अमूल्य समृद्ध प्रदेश बनाउने योजना छ परिकलपना छ र सपना छ ।

दिन प्रतिदिन वेरोजगार बढ्दै छ युवा शक्ति विदेशिनु परेको छ यसलाई समाधान गर्न सक्ने आधार के छ ?  

हामीले प्राकृतिक स्रोत साधनलाई उपयोग गरेर हामीले यहाँ रोजगारी सिर्जना गर्ने हो । मैले व्यवसायिक कार्यहरुको थालनी गर्ने छु । स्थानिय सरकार प्रदेश सरकार मार्फत र विकाश निर्माणका ठुलाठुला परियोजना मार्फत अब यहाँको दक्ष अदक्ष र विवेकशील जनशक्तिलाई रोजगारीको सिर्जना गर्न सकिन्छ । जस्तो हामीसँग पर्याप्त मात्रामा जंगल छ, कृषियोग्य भूमि छ ।

त्यसलाई आधुनिकिकरण गरेर उव्जाउ हुने ठाँउमा उन्नत खालका खाद्यान्नबाली, तरकारी खेति गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने, राकम कर्णाली आफै एक आर्थिक हबका रुपमा स्थापना हुदै गइरहेको अवस्थामा त्यहाँ रहेका हरेक कृषिजन्य पदार्थलाई बजारीकरण, व्यापारीकरण गर्न सघाउ पु¥याउने मेरो योजना छ । केन्द्रीय सरकारसँग मिलेर विद्युतिकरण गर्ने मेरो सपना छ । युवा लक्षित कार्यक्रमहरु यस क्षेत्रमा ल्याउने र युवाहरुको दक्षतामा अभिवृद्वि गराउने प्रक्रिया शुरु गर्नेछु । विदेश गएका युवाहरुलाई आफ्नै ठाउँमा लगानी गर्ने आव्हान गर्दै उनीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दछु ।

यहाँका ८० प्रतिशत जनताहरू कृषिमा संलग्न छन यसलाई व्यवस्थित बनाउन तपाईसँग कस्ता योजनाहरु छन ?  

हाम्रो पाटी मार्फत हामीले एउटा सपना बुनेका छौं । हामीले स्थानिय चुनावका बेलापनि हामीले कृषि क्षेत्रमा शैक्षिक क्षेत्रमा अन्य क्षेत्रमा केही योजनाहरू पस्केका छौ । तिनीहरूलाई हामीले उन्नत बनाउने त्यो ठाउलाई समृद्ध बनाउने, त्यो ठाँउको विकास गर्ने, व्यवसायीक रुपमा कुन क्षेत्रलाई कस्तो विकास आवश्यकता पर्छ भन्ने कुराको स्थानिय तहमा सरकारहरुले गुरुयोजना तयार गर्दैछन ।

त्यो गुरूयोजना मार्फत हामीले कहाँ कसरी विकास गर्ने पत्ता लगाउँछौ र त्यस मार्फत साधनहरू स्रोतहरु परिचालन गरेर गुरुयोजनाले इन्डिकेट गरेका क्षेत्रहरुमा कृषि, पशुपालन र अन्य क्षेत्र हाइड्रो लगाएतका क्षेत्रमा विकास गर्ने योजना बनाएका छौँ । हामी विकासका सवालमा हाम्रो गठबन्धनको घोषणापत्रमा उल्लेख भएअनुसारका गतिविधिहरु गर्दै यो प्रदेशलाई समुन्नत, विकसित र सभ्य प्रदेशको रपमा विकास गर्नेछौं ।

यहाँ जनतालाई हरेक खाले पिडा छन्, तपाईं कसरी समृद्ध बनाउन सक्नुहुन्छ ?  

मैले माथि पनि भने, हाम्रो गौरवशाली पार्टीले आर्थिक सम्वृद्विको यात्रा तय गरिसकेको छ । हामीले यस क्षेत्रको विकास गर्ने मुख्य आधार भनेको पार्टीको घोषणापत्र नै हो । सामाजिक सुरक्षामा बृद्वि, मानसरोवरसम्मको जानेबाटो खुलाउने, अपर कर्णाली जलविद्युत परियोजनालाई तत्काल सुरु गर्ने, लगायतका यावत जनपक्षीय कार्यक्रमहरु हामीले ल्याएका छौं । ती बाहेक मेरो व्यक्तिगत प्रयासमा मैले विद्युतिकरण गर्ने सपना बुनेको छु । केही साथीहरूले व्यक्तिगत पहलमा जलस्रोत मन्त्रालय, उर्जा मन्त्रालयमा पहल चालेका छन । यहाँको विद्युत खानेपानीलाई व्यवस्थापन गर्न पहल चालेका छांै ।

दैलेखको सदरमुकाम देखि पश्चिम पिपलकोटसम्म बिजुलिको पोल विस्तार गर्नेछु । स्थानियरुपमा पनि विद्युत उत्पादन भइरहेको छ त्यसलाई पनि लाइन विस्तार मार्फत सबै ठाउँमा पु¥याउने योजना हामीले बनाएका छौ ।

स्थानिय सरकारले पनि त्यतातिर ध्यान दिइरहेको छ ठाउठाउमा माइक्रोहाइड्रो विस्तार गरि विद्युतको विकास गर्ने अनि सबै ठाउमा बाटो पुर्रुयाएर अबको पाँच बर्षमा कालोपत्रे गरेर सबैलाई सेवा दिने योजना बनाएको छु । ठाउठाउमा नमुना विद्यालय बनाउने प्राप्त स्रोत साधन दिएर गुणस्तरीय शिक्षा दिने विकसित मुलुक शहरबजारमा प्राप्त भएको शिक्षा भन्दा अझ राम्रो शिक्षा दिने प्रयासमा छु । विकासका अन्य पूर्वाधारहरुकालागि म निरन्तर लाग्नेछु ।

दैलेखको पश्चिम क्षेत्र शिक्षा क्षेत्रबाट एकदमै पछाडि परेको छ । आधारभूत तहमा मावि तहमा त्यति राम्रो शिक्षा दिन सकिएको अवस्था छैन । उच्च शिक्षा हासिल गर्न टाढा–टाढा जानू पर्छ । यसको लागि तपाईले कस्तो पहल चाल्नु हुन्छ ?  

आगामी दिनमा हामीले प्रत्येक विद्यालयमा अनुगमन गरेर दक्ष शिक्षक शिक्षिका राखेर एकदमै गुणस्तरीय शिक्षा प्रदान गर्ने छौ । हाल आठबीस क्याम्पसको स्थापना गरेका छौ । सबैलाई पाएक पर्ने ठाउमा उच्च शिक्षाको स्थापना गर्ने छौं । चामुन्डामा क्याम्पस स्थापना गरेका छौं । यो प्रदेशको निर्वाचन क्षेत्रमा दुईवटा क्याम्पस छन । अव हामीले कृषि व्यावसाय अरु प्राविधिक, व्यावसायिक शिक्षा दिने क्याम्पस स्थापना गर्ने लक्ष्य लिएका छौ ।

तपाईलाई यहाँ सम्म पु¥याउने अर्थात तपाईंलाई सदैव हौसला दिईरहने सधैं तपाईंको प्रगति भएको देख्न चाहने सम्झन मिल्ने कोही छन की ?

सर्वप्रथम त म मेरो आमालाई सम्झिन चाहन्छु । किनकी मलाई राजनीतिमा प्रेरणा दिलाउने आमालाई सदैव सम्झिरहन्छु । न्यायको पक्षमा र अन्यायको विरुद्धमा बोल्न उत्प्रेरणा दिने त मेरो आमा नै हुनुहुन्छ । मेरो बुबाले पनि छोरो सामाजिक काम गर्ने होस् भन्ने उहाँको चाहना थियो । म सानो छदा बुबाले मलाई छोडेर जानू भयो ।

बुबाको आर्शिवाद त्यति पाएन । राजनीतिमा मलाई पहिला प्रेरणा दिने अग्रज व्यक्ति तर्क बडुवाल, बिनोद कुमार शाह हुनुहुन्छ । उहाँहरूले राजनीति जीवनका सुरुका दिनहरुमा प्रेरणा दिनुभएको हो । त्यस्तै, अन्य साथीभाइहरू हुनुहुन्छ । म उहाँहरूलाई पनि सम्झिन चाहन्छु । यो अवस्था सम्म अथवा राजनीति क्षेत्रमा निरन्तर टिकाइरहनलाई जस्तोसुकै प्रतिकुलतामा पनि मेरो आशा जोगाई राख्नलाई आम जनसमुदायहरुले मलाई माया गरिरहनु भएको छ उहाँहरूको प्रेरणा र उहाँहरूको मायाले मेरो आत्माबल बढेको हो र म यहाँ सम्म पुगेको हुँ ।

अन्त्यमा केहि भन्नु छ की ? 

आम जनतालाई मेरो बारेमा थाहा छ । म कस्तो मान्छे हु कस्तो खालको व्यवहार गर्छु र मैले जननिर्वाचित भईसकेपछि मैले गाऊविकास समितिमा काम गरेको हुनाले म कति इमान्दार छु, कति सक्षम छु भन्ने कुरा उहाँहरूलाई थाहा छ ।

निश्पक्षिय जनपक्षिय सबै कुरा थाहा छ ।  यो पटक मलाई यो पाटीले बामगठबन्धनले मलाई विश्वास गरेर यो क्षेत्रको एउटा प्रतिनिधि खास गरि यो संघिय व्यवस्थाको जग निर्माणको एउटा जिम्मेवारी पूरा गर्ने महत्वपूर्ण स्थानमा मेरो पार्टी र वामगठबन्धनले मलाई उम्मेदवारी दिएको छ । यो अवसरमा यहाका आम जनताहरुले म प्रति पूर्ण विश्वास व्यक्त गर्नेछन ।

मलाई सहयोग गर्नेछन र अझ जनतालाई सहयोग गर्ने अवसर दिनेछन भन्दै सबैलाई सुर्य चिन्ह अंकित चुनाव चिन्हमा भोट हाल्न आग्रह गर्न चाहन्छु । यहाँहरुले विजय गराएर पठाएको खण्डमा म यो क्षेत्रको आमुल परिवर्तनका लागि अहोरात्र मेहनत गर्नेछु । म पहिले काम गर्ने र अनिमात्र यहाँहरुलाई बताउनेछु ।

यहाँहरुको प्रदेशस्तरीय पत्रिका मार्फत मेरा धारणा, विचारहरु आम जनताबीच लैजान सहयोग गर्नुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु, साथै पत्रिकाको निरन्तर उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*