महाभुकम्प- २०७२ डायरी

–    अजय शर्मा

86TP
अन्य दिन भन्दा पृथक र भिन्नरुपमा शनिवार मनाउने सोचमा थियौ हामी । मेरी जीवन संगिनी (मीनु)को जन्मदिन थियो बैशाख १२ गते त्यसको अर्को दिन बैशाख १३ गते हामी वैवाहिक जीवनमा बाँधिएको तीन बर्ष पुग्दैँ थियो । त्यसदिन विहानैदेखि मीनुले आज मलाइ के विषेश हुन्छ भन्दै सोध्दैँ थिइन् । मैले पनि कुटनीतिक भाषामा आज केही विषेश हुन्छ भनेर जवाफ दिए ।
मम्मी (विष्णु शर्मा पौडेल) राजनीतिक भेटघाटका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट तर्फ ७ बजे विहानै ताहचल स्थिति कोठाबाट निस्कनु भएको थियो । उहाँले कोठामा खाना खान नआउने र पुतली सडकमा बस्दै आउनुभएकी माइली दिदि कहाँ जाने भन्नुभएको थियो ।
हामी खाना खाइवरी बसेका थियौँ । म सधै जसो ल्यापटपमा काममा व्यस्त थिए । मीनु छोरी अहानालाई तेल घस्दै थिइन् । गोरखापत्रमा सँगै प्रवेश गरेका साथी सविता शर्माले मीनुलाई जन्मदिनको शुभकामना दिन फेसबुकमा कल गर्नुभयो । उहाँको फोन राख्न पाउदा नपाउदैँ हामी बसेको घर हल्लन थाल्यो । मीनु छोरीलाई काखमा एक्कासी च्यापिन त्यसकारण छोरी रुन थालिन् । म अलिक पर बसेको थिए । म पनि छोरी र मीनु भएतिर नउठी सरेर गए । मीनुको अध्यारो अनुहार अब मरिने भयो भन्ने भाव स्पष्ट झल्कन्थ्यो । म पनि २०१२ अंग्रेजी फिल्म हेरेको अनुभव आफ्नै जीवनमा गदैँ थिए । जसमा सडक भासिएको, घर गल्र्याम गुर्लुम ढलेका भयानक दृष्य थिए । आज मरिने भयो भन्ने चिसो मेरा मनमा पनि पर्यो । तर म त्यस बखत कुनै प्रकारकाले अताल्लिएन । खै के भयो । छोरी र जीवनसंगिनीलाई अभिभावकत्व दिन खोज्दा त्यस्तो भयो की आफैलाई थाहा छैन । मैले पनि मीनुलाई विस्तारै भने अब गइयो तर नआतियौँ के गर्नु यस्तै रहेछ । उनले भन्दै थिइन् भागौँ तर मैले मानिन । किनकी मैले यस अघि काठमाडौँमा २०६८ सालमा गएको भुकम्प सम्बन्धी रिपोटिङ् गरेको थिए । मलाई थाहा थियो त्यसरी अताल्लिएर दौडदाँ घरवरपरभएको भौतिक संरचनाले थप क्षति पुर्याउन सक्छ र त्यसभन्दा बढि खतरा हामी दोस्रो तलामा रहेकाले भर्याङ् भएर तल झर्नुपर्थो, घरको अन्य संरचना भन्दा कमजोर भर्याङ् हुने कुरा मलाई थाहा थिए त्यसैले मैले भुकम्प नथामिएसम्म घरबाट निस्कन मानिन ।
करिब एक मिनेटको हल्लाई र थर्काइ पश्चात् केही स्थिर भयो । त्यस पश्चात् हामी छोरीलाई व्ल्याङ्केटमा बेरेर खाली स्थानमा दौडियौँ । काठमाडौँ शिक्षा कार्यालय अघि रहेको केही खुल्ला स्थानमा गयौँ हामी । अब बल्ल नातेदार, साथी भाईको याद आयो । सम्पर्क गर्न खोजे कसैलाई फोन लागेन । त्यसपछि मोबाइल डाटा अन गरे थ्रीजीले काम गर्यो । फेसबुकमा स्टाटस लेखे वालवाल बाँचियो  । यति लेखिसक्दा नसक्दै फेरी अर्को धक्का दियो । प्रहरी विट पनि नजिकै रहेकाले प्रहरीको अनुरोधमा हामी ताहचल क्यापसको खुल्ला चौर तिर हानियौँ । अब चाहि साचिँकै बाँचियो भन्ने लाग्यो । मान्छेहरुको कोलाहल सुनियो, क्यापसको ठूलो चौर एकै छिनमा भरियो । केही क्षणमै हल्ला आयो ऐतिहासिक घरोहर धरहरा ध्वस्त भयो रे, मान्छे मरे रे, शहरका घर कुनै बाँकी रहेनन् इत्यादी । हामी सँगै घरमा बस्ने रवि भाईको मोबाइलमा डाटाले काम गरिरहेको थियो । त्यही मोबाइलबाट हामीले भुकम्प सेल्फी खिच्यौँ र भाईको फेसबुकबाट फोटो अपलोड गयौँ ताकी हाम्रो नजिकका सबैले सुरक्षित रहेको खबर पाउन् ।
पुतली सडकमा रहनुभएकी दिदिलाई बल्लतल्ल फोन लाग्यो उहाँहरु सकुशल रहेकाले अलिक राहत मिल्यो । तर मम्मीलाई भने अझै फोन लागेको थिएन । तनावमा थियौँ हामी । करिब ३ बजे तिर मम्मीको फोन आयो म ताहचलमा छु । तिमिहरु कहाँ छौँ ? मैले ताहचल क्यापसको चौरमा रहेको बताए उहाँ आउनु भयो । मलाई धेरै राहत मिल्यो अब मेरो पनि अभिभाववक आउनु भयो । यतिबेला सम्म म नै छोरी र मीनुको अभिभावक थिए ।
दिनभर खानु छैन पिनु छैन छिनछिनमा भुकम्प आइरहेको छ । त्यसै तनावमा बस्यौँ खुल्ला चौरमा रातको ११ बजेसम्म । ताहचल क्यापसमा सन्धाकालिन कर्मचारी गिरिराज चौधरी जो गोरखापत्र अनलाइनमा दिउसो पनि काम गर्छन् । उनी हामीलाई खोज्दैँ हामी बसेतिर आए । उनले हामीलाई १४ रेक्टर स्केलको भुकम्प प्रतिरोधी भवन जो भर्खरै निमार्ण सम्पन्न भएको भवन हो । त्यहि भवनको कक्षा कोठामा जान अनुरोध गरे । हामीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । हामी सबै एक रात खुल्ला आकाशमूनी बस्न सक्थ्यौँ तर भर्खर ९ महिना पुगेकी छोरी अहानाको विजोग हुने थियो । त्यसैले हामी त्यस भवनमा गयौँ ।
अब चटारो पर्यो खाने कुराको म र रवि भाई कतै केही पाइन्छकी भनी होटल, पसल तिर हानियौँ । क्यापसको नजिकै होटलमा हामीले चाउचाउ बनाउन लगायौँ र मम्मी र मीनुलाई चाउमिन प्याक गरेर ल्याइदियौँ, छोरीलाई दुध । भुकम्पको धक्का आउने क्रम रोकिएको थिएन । हामी अझै सुरक्षित छौँ भन्ने कुरामा आश्वस्त थिएनौँ । रातभर आँखा लाग्न सकेन ।
अर्को दिन आइतबार विहान पाँच बजे पुनः भुकम्पको धक्का आयो । कोठामा खाना बनाउन जाने कुरो भयो । हामी हतार हतार कोठामा खाना बनायौँ । मानौ कोठा नै बम हो कति बेला पड्कन्छ थाहै छैन । पापी पेटको सवाल छ । के गर्नु जे हुँदा नी खानै पर्ने रैछ । हामी हतार हतार गरी खाइवरी फर्कियौँ । मीनु र छोरीलाई खाना क्यापसमै ल्यायौँ । सोमबार अब काठमाडौँ छोड्ने सल्लाह भयो, मम्मी र म भएर बसपार्क तिर हानियौँ । तर त्यहाँ बस टिकटमा कालो बजारी गर्ने गिरोह सक्रिय रहेछन् । विहान ६ बजेदेखि लाइनमा बसेकाहरुले टिकट नपाएको र साविकको भन्दा बढि भाडा लिएको झोकमा टिकट काउन्टर तोड फोड गरे भागाभाग भयो । हामी पुनः क्यापसमै फर्कियौँ  ।
एवंम दिन चर्याका साथ तीन रात क्यापसमा वितायौँ । त्यसछि पुतली सडक दिदिकोमा गयौँ, दाङ जाने नजाने सल्लाह पनि गर्नुथियो । त्यस रात दिदिकोमै बस्यौँ । भिनाजुले आफू बसेको घरमा भौतिकरुपमा क्षति नपुगेकाले काठमाडौँमै बस्ने निर्णय गर्नुभयो । अर्को दिन विहान पुनः म बसपार्क पुगे २० मिनेटको लाइनमा बसेर टिकट पाए । हामी सबै घर जान पाएकोमा दङ्ग र फुरुङ् थियौ । कलंकीमा हेर्दा लाग्थो काठमाडौँ शहरमा अब कोही बस्न चाहदैन । दशै तिहारका भन्दा कयौँ गुणा मानिस जिल्ला तिर हानिदैँ थिए । अब काठमाडौँ सुरक्षित रहेन, के गर्ने यस्तो जोखिम मोलेर, ज्यान रहे पो यस्ता यस्ता कुरा बसभरि सुनिथ्यो । हामी नारायणघाट आएका थियौँ पुनः काठमाडौँमा भुकम्प गयो रे भन्ने सुनियो । त्यसपछि झन हामी हाम्रो निर्णय प्रति सुन्तुष्ट भयौँ । बुधबार २ बजे काठमाडौँबाट हिडेका हामी विहिवार विहान ६ बजे घर आइपुग्यौँ । म जस्तै अन्य साथीहरु परिवारका साथ कोही भुकम्प गएको अर्को दिन आइतबार, कोही सोमबार, कोही मंगलबार, कोही बुधबार, विहिबार, शुक्रबार आउने क्रम रोकिएको छैन ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*