‘मेजर भएर बिहे गर्छु भन्थ्यो’ शोकमा रावल परिवार

                       

दैलेख, जेष्ठ २ ( महाभूकम्पपछिका दिनमा बलबहादुर रावल दिनहुँजसो नेपाली सेनाका क्याप्टेन छोरा तपेन्द्रको खबर बुझिरहन्थे । ‘कता छौ, के छ रु’ बलबहादुर सोध्थे । तपेन्द्रको धेरैजसो जवाफ हुन्थ्यो, ‘ठीकै छु, एयरपोर्टमा छु ।’ वैशाख २९ गते मंगलबार पनि बलबहादुरले फोन गरे । उठेन । उनले ठाने, ‘कतै व्यस्त होला ।’

त्यही दिन भूकम्पपीडितलाई उद्धार गर्न गएको अमेरिकी हेलिकप्टर बेपत्ता भएको थाहा पाए । बुधबार बिहान सुने, ‘भूकम्पपीडितलाई उद्धार गर्न गएको हेलिकोप्टरमा तपेन्द्र पनि रहेछन् ।’ त्यसपछि रावल परिवारको ओठमुखै सुक्यो । पिरले बलबहादुर, आमा र भाइबहिनीले खाना पनि खाएनन् । तपेन्द्र फर्केर आउने आशा मनको कुनामा बाँकी नै थियो । त्यसैले शुक्रबारसम्मको चार दिनको बीचमा रावल परिवार तीन पटक ज्योतिषीकहाँ पनि पुग्यो । ज्योतिषीले पनि स्पष्ट कुरा भन्न नसक्दा उनीहरूमा छोरा नभएको भय झन् गाढा भइरहेको थियो ।

आखिर जे नहोस् भन्ने कामना उनीहरू गरिरहेका थिए, त्यही भयो । हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर शुक्रबार मध्याह्नमा सुन्यो रावल परिवारले । ६० वर्षीय बाबु बलबहादुर बेहोस भए । उनी बिहीबारदेखि नै पटक–पटक बेहोस हुन थालेपछि परिवारले जिल्ला अस्पतालनजिक रहेको छोरीको घरमा बस्ने व्यवस्था मिलाएका छन् । सिमाडास्थित गाउँ र उनको घरपरिवार शोकमा डुबेको छ अहिले ।

‘भूकम्प आएपछि कता छ, के छ भनेर बुझ्नलाई फोन गर्थें, सधैं एअरपोर्टमा छु बुवा भन्थ्यो । त्यसदिन फोन उठेन,’ बलबहादुरले भक्कानिँदै भने, ‘कठै, उसँग अन्तिममा कुरा हुन पनि पाएन । दैवले चुँडेर लगिदियो ।’ हेलिकप्टर हराएको राति नराम्रो सपना देखेको पनि उनले बताए ।

गाउँलेले सम्झाई–बुझाई गरे पनि बलबहादुर अर्धचेत अवस्थामा छन् । घरीघरी बर्बराउँछन् । चार दिनसम्म अन्न नपरेको पेट चाउरिएको छ । शोक र भोकले ओठमुख सुकेका छन् । नारायण नगरपालिका–८ सिमाडास्थित घर सुनसान छ । छिमेकीमा पनि रुवाबासी चलेको छ । शोकाकुल वातावरणले टोल छरछिमेकमा चुलो बल्ने अवस्था छैन । दौंतरी सबैका आँखा रसाएका छन् । पढाइमा तीक्ष्ण तपेन्द्रले ०६० सालमा सेनाको सहायक सेनानी पदबाट सेवा सुरु गरेका हुन् । दुई विषयमा स्नातकोत्तर गरेका थिए उनले । ‘एक कक्षादेखि नै फस्ट हुन्थ्यो । डाक्टर बन्ने चाहना राखेर प्लस टु पढ्न नेपालगन्ज गयो,’ भावविह्वल बलबहादुरले भने, ‘सेनाको जागिर खायो । राष्ट्र सेवामा खटेको थियो, अहिले नसोचेको घटना भयो ।’

गत दसैंयता तपेन्द्र घर आउन पाएका थिएनन् । उनी अविवाहित थिए । पदोन्नति भई मेजर भएपछि मात्र बिहे गर्ने योजना उनले बनाएको दाजु नाता पर्ने प्रहरी नायब निरीक्षक ९सई० जगत रावलले बताए । उनले भने, ‘उसको त्यो इच्छा अधुरै रह्यो ।’ भूकम्पपीडितको उद्धारमा खटिएका बेला हरेक दिन आफूलाई फोन गर्ने गरेको पनि जगतले बताए । उनले भने, ‘त्यो दिन पनि दोलखा लागें । साँझ फर्केपछि कुरा गरौंला भन्यो । साँझ रेडियोबाट हेलिकप्टर हराएको सुनेपछि फोन गरें । स्विच अफ भन्यो ।’

३० वर्षीय तपेन्द्र सेनाको १० नम्बर बाहिनीमा कार्यरत थिए । जेठ ११ गते उनी १८ दिने तालिममा छनोट भएका थिए । गाउँलेका अनुसार तपेन्द्र निकै मिलनसार र सोझा थिए ।

कसैको केही बिराउँदैनथे । सानै छँदा आमा बितेकाले बुवाले दोस्रो विवाह गरेपछि उनी कान्छीआमाको काखमा हुर्किएका थिए ।

ज्योतिषीले समेत केही बताउन नसकेपछि आशाको त्यान्द्रो चुँडेसरह भइरहेको थियो रावल परिवारका लागि । ‘भगवान् पुकार्दै दिन बितायौं, आखिर नराम्रै खबर आयो ।’ भावविह्वल भरहेका बलबहादुरले भने ।
स्रोत कान्तिपुरअनलाइन

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*