क्याप्टेन रावलको दाहसंस्कार, जिल्लावासी शोकाकुल

Tapendra sabyatra
दैलेखखवर समाचारदाता ।
१९ जेठ, दैलेख । भूकम्पपीडितको उद्धारका क्रममा अमेरिकी मरिन हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावलको मंगलवार दाहसंस्कार गरिएको छ ।
वैशाख २९ गते दोलखामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रावलको शव सेनाको हेलिकोप्टरमार्फत सोमबार गृह जिल्ला दैलेख ल्याइएको थियो ।
नारायण नगरपालिका ८ सिमाडाका ३० वर्षीय रावलको मंगलबार सिमाडादेखि सदरमुकाम दैलेख बजार हुँदै श्रीस्थानसम्म शव यात्रा गरिएको थियो । रावललाई नेपाली सेनाको एक टुकुडीले आर्यघाटमा अन्तिम सलामीसमेत दिएको छ ।
वैशाख १२ गतेको महाभूकम्पमा परी घाइते भएकाहरूको उद्धारका लागि दोलखा पुगेको अमेरिकी सेनाको हेलिकोप्टरमा सम्पर्क अधिकृतको जिम्मेवारी लिएर रावल अमेरिकी सेनाको टोलीसँगै गएका थिए । सो दुर्घटनामा रावलसँगै ६ जना अमेरिकी सेना र एक जना थप नेपाली सेनाको मृत्यु भएको थियो ।
रावल विद्यालयदेखि नै तिक्ष्ण बुद्धिका थिए । २०५८ सालमा एसएसली उर्तिण गरेका रावल २०६० सालमा सेकेन्ड लेफ्टिनेन्टका रुपमा नेपाली सेनामा प्रवेश गरेका थिए । बाँकेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी गरेपछि सेनामा प्रवेश गरेका उनले दुई वटा विषयमा स्नातक गरेका थिए । उनी पछिल्लो समय सेनाको १० नम्बर बाहिनीमा कार्यरत थिए । सेनाको विशेष बल मानिने युद्धभैरव गणमा रहेका उनी मेजरमा बढुवाको तयारीमा रहेका थिए । मेजरमा बढुवापछि बिहे गर्ने याृेजनामा रहेका रावलको सपना दोलखामा भएको दुर्घटनासँगै सदाका लागि अन्त्य भयो ।
अहिले रावलको गाउँ सिमाडासंगै दैलेख जिल्ला नै शोकाकुल बनेको छ । सेनाको उच्च तहसम्म पुग्न सक्ने क्षमता तथा रोलक्रममा रहेका रावलको असामयीक निधनले जिल्लालाई अपुरणीय क्षति पुगेको छ ।
सानैमा आमा गुमाएका रावलका बाबु सौतेनी आमा र एक दिदि छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*